अर्जेन्टिनामा रोनाल्डोलाई किन गरिन्छ घृणा ? डिबालाको रमाइलो टिप्पणी

रोम – इटालियन सिरिए क्लब युभेन्ट्सका आक्रामक मिडफिल्डर पाउलो डिबालाले आफ्नै क्लबबाट व्यावसायिक फुटबल खेल्ने पोर्चुगिज स्टार क्रिस्टियोना रोनाल्डोको विषयमा रमाइलो टिप्पणी गरेका छन्। २६ वर्षीय अर्जेन्टिनी खेलाडी डिबालाले अर्जेन्टिनामा रोनाल्डो खासै चर्चित व्यक्तित्व नभएको प्रतिक्रिया दिएका छन्।

डिबालालले अर्जेन्टिनामा रोनाल्डो लोकप्रिय नरहेको बताए। उनले लियोनल मेसीको राष्ट्र अर्जेन्टिनामा रोनाल्डोलाई धेरैले घृणा गर्ने गरेको अभिव्यक्ति दिएका छन्। ‘अर्जेन्टिनामा रोनाल्डो खासै लोकप्रिय छैनन्। उनको विषयमा खासै चर्चा पनि हुँदैन। बरु उनलाई अर्जेन्टिनामा घृणा गर्ने गरिन्छ’, डिबालाले भनेका छन्।

अहिले विश्वभर मेसी र रोनाल्डोका करोडौं समर्थक छन्। यी दुवैका समर्थकले आआफ्ना खेलाडीलाई विश्वको सर्वोत्कृष्ट फुटबलरको रूपमा व्याख्या गर्ने गर्छन्। युभेन्ट्समा आबद्ध हुनुअघि रोनाल्डो स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्थे। मेसी भने अर्को स्पेनिस क्लब बार्सिलोनामा आबद्ध थिए।

समकालीन फुटबलका यी दुई महान् खेलाडीका कारण नै रियल म्याड्रिड र बार्सिलोनाबीचको ‘एल क्लासिको’ भिडन्त सधैं करोडौं फुटबलप्रेमीको प्रतीक्षाको विषय बन्ने गथ्र्यो। रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिड छाडेर युभेन्ट्समा आबद्ध भए। तर, अहिले पनि मेसी र रोनाल्डोबीच को सर्वोत्कृष्ट भन्ने अघोषित युद्ध भने जारी नै छ।

यस्तै तर्क÷बितर्कबीच युभेन्ट्सकै चर्चित खेलाडी डिबालाले रोनाल्डोको विषयमा अचम्मको टिप्पणी गरेका हुन्। ‘अर्जेन्टिनामा रोनाल्डोलाई मन पराउने सायदै कोही होला। म रोनाल्डोलाई भन्न चाहन्छु, अधिकांश अर्जेन्टिनीले तिमीलाई घृणा गर्छन्। तिम्रा अनुहारलाई घृणा गर्छन्। तिम्रो हिँडाइको तरिकालाई घृणा गर्छन् र समग्रमा तिम्रो अस्तित्वलाई नै घृणा गर्छन्’, अर्जेन्टिनी फुटबल संघको प्रचारप्रसार शाखासँगको कुराकानीमा डिबालाले भनेका छन्।

डिबाला विश्वका थोरै यस्ता फुटबलर हुन् जसले मेसी र रोनाल्डो दुवैसँग खेल्ने अवसर पाए। उनले रोनाल्डोलाई सम्बोधन गर्दै भनेका छन्, ‘सत्य के हो भने तिमीले मलाई आश्चर्यमा पार्‍यौं किनभने मैले तिमीलाई नितान्त फरक रूपमा पाएँ।’

यद्यपि, गत वर्ष डिबालाले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्दा आफूलाई मेसीसँग तालमेल मिलाउन निकै असहज हुने गरेको टिप्पणी गरेका थिए। सोही कारण उनी समस्यामा पनि परेका थिए। उक्त भनाइका कारण उनले थुप्रै आलोचनाको पनि सामना गर्नु परेको थियो।

मेसी र डिबाला एउटै पोजिसनमा खेल्ने गर्छन्। उनले मैदानमा मेसीसँग तालमेल मिलाउन आफूलाई अप्ठ्यारो पर्ने गरेको बताएका थिए। डिबाला केही समयअघि कोरोना भाइरसबाट संक्रमित भएका थिए। तर, अहिले उनी पूर्ण रूपमा स्वस्थ्य भइसकेका छन्। उनको पछिल्लो परीक्षणको नतिजा नेगेटिभ आएको छ। एजेन्सी

Post a Comment

0 Comments