बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु भएको दूतावासको ठहर

लण्डन – बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपाली ६० पुगेका छन् । लण्डनस्थित नेपाली दूतावासले सोमबारसम्म ५० पुरुष र १० महिला गरी कुल ६० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

दूतावासका प्रवक्ता शरदराज आरनले दिएको जानकारीअनुसार मृतकमध्ये ४९ जना भूतपूर्व गोर्खा सैनकि र उनीहरुका परिवारका सदस्य छन् । त्यस्तै मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका छन्।

हालसम्म कोरोनाबाट २० नेपाली लण्डनमा तथा बाँकी ४० जनाको लण्डनबाहिरका शहरमा मृत्यु भएको दूतावासले जानकारी दिएको छ । बेलायतका ननिटन, बेजिङस्टोक, रेडिङलगायतका क्षेत्रमा बढी नेपालीको मृत्यु भएको हो।

बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बस्ती रहेको अल्डरसट क्षेत्रमा भने तुलनात्मक रुपमा निकै थोरैको मृत्यु भएको छ ।

दूतावासका अनुसार अहिले करिब २० जना संक्रमित नेपाली बेलायतका अस्पतालमा उपचार गराइरहेका छन् र अरु ३० संक्रमित घरमै आइसोलेसनमा छन् । संक्रमित धेरै नेपाली निको भइसकेका छन् ।

दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संगठन तथा स्थानीय काउन्सिलसँगको समन्वयमा यो तथ्यांक संकलन गरेको जनाएको छ । अन्नपूर्णबाट

Post a Comment

0 Comments