ट्रम्पले ह्वाइट हाउसमा बोलाए हिन्दू पुजारी, संस्कृतमा गरियो शान्तिपाठ

एजेन्सी । अमेरिकामा कोभिड–१९ महामारी फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर शान्ति, सुरक्षा र भलाईका लागि शान्ति पाठ गराएका छन् । नेशनल डे अफ प्रेयर सर्भिसका अवसरमा पुजारी हरिश ब्रम्हभट्टले शान्ति पाठ गरेका हुन् । ब्रम्हभट्ट न्यु जर्सींस्थित स्वामी नारायण मन्दिरका पुजारी हुन् ।

‘कोभिड १९ को यो समस्याग्रस्त घडी, सामाजिक दूरी र लकडाउनको अवस्थामा मानिसले अशान्त वा त्रास महसुस गर्नु अस्वभाविक होइन । शान्ति पाठ धन, सफलता, प्रसिद्धी वा स्वर्गका लागि गरिने प्रार्थना होइन,’ ब्रम्हभट्टले भने,‘यो शान्तिका लागि सुन्दर हिन्दू प्रार्थना हो । यो यजुर्वेदबाट आएको प्रार्थना हो ।’ उनले सुरुमा संस्कृतमा पाठ गरेपछि त्यसैलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।
‘स्वर्गमा शान्ति होस् । आकाश र पृथ्वीमा शान्ति होस् । पानीमा शान्ति होस् । वनस्पति र रुखमा शान्ति होस् । ब्रम्ह र सबैमा शानित होस् र हामीले त्यो शान्ति महसुस गरौं । ओम शान्ति, शान्ति, शान्ति,’ ब्रम्हभट्टले भने ।
शान्ति पाठपछि ट्रम्पले ब्रम्हभट्टलाई धन्यवाद दिए । नेशनल डे अफ प्रेयर सर्भिसमा बोल्दै राष्ट्रपतिले कोरोनाविरुद्धको डरलाग्दो र भीषण लडाई अमेरिकाले गरिरहेको बताए ।
‘इतिहासदेखि नै चुनौतीको घडीमा हाम्रा जनताले सधैं आस्थाको उपहार खोजेका छन्, हाम्रो विश्वासको आर्शिवाद, प्रार्थनाको शक्ति र भगवान्को भित्री सुन्दरता । म सबै अमेरिकीहरुलई अध्यात्ममा आफ्नो हृदय र आवाज जोड्न भन्छु र हामी शक्ति र उद्धारका लागि स्वर्गका हाम्रा भगवान्लाई अनुरोध गर्छौ’ उनले भने ।
प्रथम महिला मेलानिया ट्रम्पले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति सहानूभूति प्रकट गरिन् । न्यु जर्सीको रोब्बिन्सभिल्लीस्थित स्वाभिनारायण मन्दिरका पुजारीले ह्वाइटहाउसमा भएको प्रार्थनामा मन्त्रोच्चारण गरेको यो सायद पहिलोपटक हो । श्रोतः एनडी टिभी

Post a Comment

0 Comments